समाचार

एसपीमा छुटेका पोखरेल र थापा एआईजीमा भेट,आईजीपीमा भीडन्त


काठमाडौँ – सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्दै सहकुल थापालाई बढुवा गर्न सिफारिस गरेसँगै भावी आईजीपी (हानिरीक्षक) मा प्रतिस्पर्धा हुने भएको छ ।

यो सँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि एआईजी विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआइजीमा बढुवा भएपछि १ वर्षभन्दा बढी समयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । केही दिनअघि मात्र उनको सीआइबीबाट प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको थियो ।

पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले ८ महिनाअघि कात्तिक २७ गते एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो । फेरी अहिले १५ महिनापछि थापालाई पनि एउटा दरबन्दी थपेर एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

यसअघि बढुवा भएका पोखरेलको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए पनि सरकारले वेवास्ता गर्दै पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । हालका आईजीपी शैलेश थापा र एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्कीले आगामी वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाश पाउने छन्।