समाचार

रंगभेदी व्यवहारको भुल सुधारका लागि क्षतिपूर्ति र माफीको व्यवस्था गर्न संयुक्त राष्ट्रसंघको आग्रह


काठमाडौँ – संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले अफ्रिकीमुलका व्यक्तिहरुमाथि हुँदै आएको रंगभेदी व्यवहारको भुल सुधार या भरणका लागि क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेको छ । आयोगको नयाँ प्रतिवेदनमा विभेद तथा भेदभावलाई सम्बोधन गर्न माफीसँगै शैक्षिक सुधारको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

ब्ल्याक लाइभ्स म्याटर समूहले गरेको कामको प्रशंसा गर्दै आयोगले सो समूहलाई आर्थिक सहयोग, सार्वजनिक पहिचान तथा सहयोग गरिनुपर्ने उल्लेख गरेको छ । आयोगको प्रतिवेदन सन् २०२० मा अमेरिकामा प्रहरीको ज्यादतीका कारण मारिएका निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडबाट सुरु भएको छ । फ्लोइडको निधनपछि अमेरिकासहित विश्वभर रंगभेदविरोधी आन्दोलनले नयाँ गति लिएको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले ३०० भन्दा बढि विज्ञ तथा अफ्रिकीमुलका व्यक्तिसँगको छलफलपछि प्रतिवेदन तयार पारेको हो ।

देशहरुलाई रंगभेद तथा त्यसका आधारमा भइरहेका अन्याय अन्त्यका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघले आग्रह गरेको छ । शताब्तीयौँदेखि हुँदै आएको विभेदको भरणपोषणका लागि विभिन्न स्वरुपको क्षतिपूर्ति, माफीसहितका उपाय अपनाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।