समाचार

पसल खोल्न बार तोकेपछि व्यापारीहरु असन्तुष्ट, सरकारलाई दिए चेतावनी

स्वास्थ्य मापदण्ड अपनाएर पुरै समय पसल खोल्न दिनुपर्ने उनीहरुको भनाइ छ ।


काठमाडौँ – सरकारले करिब दुई महिनाको निषेधाज्ञापछि काठमाडौं उपत्यकामा पसल र निजी यातयात खुला गरिएको छ । प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपछि ब्यापारीले पनि पसल खोल्न थालेका छन् । तर, सरकारको नियमप्रति व्यावसायीहरु भने असन्तुष्ट भएका छन् ।

जनजीविका सहज बनाउन काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले गत बैशाख १६ गतेबाट उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लगाएको थियो । अहिले संक्रमण र मृत्युदरमा कमी हुदै गएपछि निषेधाज्ञा केहि खुकुलो बनाइएको हो । तर, कोरोनाका नयाँ नयाँ भेरियन्टहरु देखिएपछि अझै पनि त्रास भने उस्तै छ । निषेधाज्ञा खुकुलो भएपछि मान्छेहरु बाहिर निस्किरहेका छन् । संक्रमित नभएका मान्छेलाई संक्रमण हुने सम्भावना कायमै छ । तर, निषेधाज्ञा खुकुलो पार्न सरकारले ल्याएका नियमप्रति भने व्यापारी असन्तुष्ट देखिन्छन् । सरकारले हप्तामा तीन दिन मात्र पसल खोल्ने नियम बनाएको भन्दै व्यवसायीहरु असन्तुष्ट भएका हुन् ।

निषेधाज्ञा खुकुलो भएसँगैै काठमाडौँका अधिकांश बजार खुलेका छन् । दैनिक रुपमा पसल व्यवसाय खोल्न पाए केही राहत हुने व्यापारीहरु बताउछन् । सरकारले ११ देखि ४ बजेसम्मको समय राख्नु उचित नभएको उनीहरु बताउछन् । स्वास्थ्य मापदण्ड अपनाएर पुरै समय पसल खोल्न दिनुपर्ने उनीहरुको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लागेको निषेधाज्ञाका कारण धेरै व्यापार व्यवसाय ठप्प हुँदा आयस्रोत घटेको छ । तर, संक्रमणको जोखिम कायमै रहिरहेको अवस्थामा सरकारले भने बमोजिम सुरक्षा सतर्कता अपनाएर व्यापार व्यवसाय सञ्चालन नगरे देश फेरि निषेधाज्ञामै नफर्केला भन्न सकिंदैन ।