राजनीति

देशभरका स्थानीय तहहरूले आज बजेट सार्वजनिक गर्दै


काठमाडौँ – आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै छन् । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्न लागेका हुन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् ।

केही स्थानीय तहले बल्ल नीति र कार्यक्रम पेस गरी बजेट सभामा पेस गर्ने तयारी गरेका छन् । स्थानीय तहहरूले पनि कोरोना महामारी नियन्त्रणमा बजेट केन्द्रित गरेको बताएका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ ।