समाचार

नेपालसहित १८ एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने अमेरिकाको घोषणा



काठमाडौं –अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप उपलब्ध गराउने भएको छ । यस अगाडि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख खोप विनियोजन गरेको थियो ।

विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । हिजो अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

जस अनुसार एसियाका १८ मुलुकहरुलाई कोभ्याक्स मार्फत १ करोड ६० लाख खोप वितरण गरिने उल्लेख छ । पहिलो चरणमा गरिएको सो खोप विभिन्न मुलुकहरुमा पुग्ने क्रममा रहेको ह्वाइट हाउसले जनाएको छ । पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र नेपालसहित १८ एसियाली मुलुकहरुमा पुग्ने अमेरिकाले जनाएको छ ।