देश

हेलम्बु बाढीमा परी तीन दुई भारतीय र तीन चिनियाँ गरी २३ जना बेपत्ता


काठमाडौँ – मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । हेलम्बु–१ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथांग चौरमा गएको पहिरोका कारण असार १ गते आकस्मिक बाढी आएको गाउँपालिकाले जनाएको छ ।

गाउँकार्यपालिकाको कार्यालयका अनुसार बाढीमा परी हालसम्म २३ जना बेपत्ता छन् । जसमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये पनि भारतीय २ र ३ चिनियाँ नागरिक रहेका छन् ।

हेलम्बु–२, किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालय, हेलम्बु–३, सिमस्थित तीन घर, हेलम्बु–७, चनौटे मुख्य बजारभित्र रहेका करिब २५ व्यापरिक पसल बाढीले बगाएको र अधिकांश घरहरु पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

केही ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको, हेलम्बु–१, तिम्बुमा रहेको मेलम्ची खोला पुल, दडतोम्बा मोटरेबल पुल र चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएकोलगायत क्षति भएको जनाइएको छ ।