Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

धितोपत्र बोर्डको विज्ञप्तिसँगै गुमेको पौने दुई खर्बभन्दा बढी सम्पत्ति


काठमाडौँ – मंगलबार (हिजो)सम्म कुल सूचीकृत सेयरको बजार मूल्य अर्थात लगानीकर्ताको सम्पत्ति मूल्य ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा बुधबार ३९ खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ। यस दिन ५१ कम्पनीको मात्रै मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्यमा ठूलो अन्तरले घटेको छ। समग्रमा भन्नु पर्दा लगानीकर्ताले १ खर्ब ८१ अर्ब रुपैयाँ गुमाएका छन्।


लगानीकर्ताले यसको कारण भनेको धितो पत्र बोर्डको एक विज्ञप्ति रहेको जनाएको छ । मंगलबार धितोपत्र बोर्डले सेयर लगानीका लागि ५१ वटा कम्पनी जोखिमयुक्त रहेको भनी विज्ञप्ति जारी गर्यो। साथै लगानीकर्तालाई सुझबुझपूर्ण लगानी गर्न आग्रह पनि गरेको थियो । जसमा बजारमा ‘ब्लुचिप’ ठानिएका कम्पनीहरु समेत सूचीमा परे। वाणिज्य बैंकबाहेक सबै समूहका कम्पनीहरु बोर्डले जोखिम ठानेका कम्पनीभित्र परेका छन्।

यसले बुधबार बजार खुलेदेखि नै असर पार्यो। बोर्डले जोखिम ठानेका कम्पनीहरु मात्रै यस दिन घटेनन् अरु कम्पनीका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे। यस दिन सबैभन्दा धेरै गुमाउनेमा गोर्खा फाइनान्स, जोशी हाइड्रो, नेसनल हाइड्रो, छ्याङदी हाइड्रो, आँखु खोला जलविद्युत, बेस्ट फाइनान्स, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले घटेको छ। धितोपत्र बोर्डले विज्ञप्ति निकालेपछि त्यसको लगानीकर्ताले विरोध जनाएका छन्।

यसरी ५१ वटा कम्पनीको नामै तोकेर जोखिम छन् भन्नु गलत रहेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् । बोर्डले जुन कम्पनीलाई जोखिम युक्त भनेको छ, त्यो कम्पनी धेरै राम्रो भएको उनले बताएका छन् । सूचीकृतमध्ये २० प्रतिशत बढी कम्पनीबारे बोर्डले दिएको अभिव्यक्तिले बजार प्रभावित पार्न खोजिएको उनले बताए।

त्यस्तै सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बोर्ड आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको बताएका छन्। ‘खुल्ला बजारमा नियामकले यो यो कम्पनी जोखिम छन् भनेर नियन्त्रण गर्न खोज्नु नै गलत हो, बोर्डको क्षेत्राधिकार होइन’ अर्यालले भने । नेप्सेको वेबसाइटमा बारम्बार समस्या आउने, टिएएमस समस्या, ब्रोकर कमिसन महँगो भइरहेको छ, बोर्डले त्यस विषमा चिन्ता गर्नुपर्ने उनको भनाई छ ।