देश

निषेधाज्ञा खुकुलो भएसँगै चहल–पहल बढ्यो


काठमाडौँ – निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागु भएको छ ।


परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिईएको थियो । असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो । ९ बजेसम्म पसल खोल्न दिदाँ उपभोक्तालाई सामग्रीहरु पु¥याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताउनु भयो ।

ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउनुहुन्छ । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि उहाँले आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यकामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।