राजनीति

४ सांसद एमालेमा फर्किएको घोषणा, कर्णाली प्रदेशका मुख्यमन्त्री अल्पमतमा


काठमाडौँ – सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा देखिएका छन् ।

आज सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा सभामुखले पढेर सुनाएका थिए ।

सर्वोच्च अदालतको आदेश अनुसार एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने उनले घोषणा गरेका हुन् ।

अब प्रदेशसभाका ४० जना सांसदमध्ये एमालेसँग सभामुखसहित २० जना भएका छन् । यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । राप्रपाले पनि सरकारलाई समर्थन गरेको छैन । तसर्थ जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा देखिएको छ । कर्णालीमा नीति तथा कार्यक्रम पारित हुनका लागि अब फेरि एमालेका सांसदले फ्लोर क्रस गर्नुपर्ने देखिएको छ ।