राजनीति

सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् : नेता गुरुङ


काठमाडौँ – नेकपा एमाले संसदीय दलका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई धोका दिएको बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको मनाङेले आज आफैलाई ‘धोका’ दिएको दिएको बताएका हुन् ।

मनाङेलाई यो स्थानसम्म आफ्नो ठूलो हात रहेको गुरुङले भने । उनले अब बिगतको काम छोड्ने र समाजसेवामा लाग्ने भनेपछि मनाङेलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको कुरा उनले खोले । ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’ गुरुङले भने ।

निवर्तमान मुख्यमन्त्री गुरुङले आफूलाई यो भन्दा ठूलो धोका अरु नहुने बताए । रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले यसरी धोका दिने भन्दै उनले भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’ गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए ।

एउटा स्वतन्त्र सांसद कुनै अर्को संसदीय दलमा प्रवेश गरेर फेरि स्वतन्त्र हुन पाइदैँन । यदि आफूले चाहेको भए मनाङेको सांसद पद खोसिनसम्म सक्ने भए पनि त्यसो नगरेको उनले बताए ।