देश

धारिलो हतियार प्रयोग गरी ७९ वर्षीय वृद्धको हत्या


काठमाडौँ – पाँचथरको फिदिम नगरपालिका–४, जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । गए राति धारिलो हतियार प्रहार गरी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको हत्या भएको हो ।

इङ्वाको टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति बस्दै आएका थिए । श्रीमती शारीरिकरूपमा अशक्त छिन् । सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ पुगेपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।

मृतक लिम्बू सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीवार उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।