राजनीति

ओली कमजोर भएपछि महन्थ र महतो आपतमा, उपेन्द्रले भन्छन्, जसपा हाम्रो हो

समग्र घटनाक्रम र नेताहरुको अभिव्यक्तिले रातारात कुनै पर्लय हुने परिस्थितिबाहेक जसपा एक हुने सम्भावना समाप्त भएको देखिन्छ ।


काठमाडौँ – पार्टीभित्र चुलिएको मतभेदकै कारण जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम तयारीमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सुरक्षित हुन एक पक्षलाई प्रयोग गर्दा अर्काे पक्ष विपक्षीमा उभिएको छ । जसले एक भएर जाने सम्भावना टुट्दै गएको छ ।


विघटित संसद्को चौथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा)को दुई खुट्टा दुई डुङगामा छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एक डुङगा लिएर सरकारमा छन् भने अर्काे डुङगामा सवार अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई त्यहीँ सरकार ढाल्न लागिपरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २५ सदस्यीय मन्त्रीमण्डलमा ११ जनासहितको जम्बो टोली लिएर सरकारमा सामेल भएको ठाकुर –महतो पक्ष सरकारमा र अर्काे पक्ष सरकार बाहिर बसेर विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपर्दा उनीहरुको आफ्नै घर भत्किने हेक्का गरेका छैनन् । बरु पार्टी नै फोडेर अघि बढ्न मनसायमा देखिन्छन् । पार्टीभित्र अल्पमतमा रहेको ठाकुर–महतो पक्षले बहुमत जुटाएर पार्टीको वैधानिकता कब्जा गर्न खोजेको छ । आफु नै आधिकारिक भएको बताउँदै आएको यो पक्षले उपेन्द्र यादव पक्षलाई चित्त नबुझे चोईटियर जानसक्ने बाटो खुल्ला गरेको छ ।

पार्टीभित्र मतभेद चुलिएर जाँदा दुवै पक्षले एकले अर्कालाई निष्कासन र निषेध गर्दै अघि बढेका छन् । यादव पक्षले ठाकुर र महतोसहित चार नेतालाई पार्टीबाट निष्कासन गरिसकेको छ । ओली सरकारमा सामेल थप मन्त्रीलाई पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर निष्कासन गर्ने यो पक्षको तयारी छ । उता पार्टीमा पहिलो अध्यक्ष आफु भएको भन्दै ठाकुर पक्षले अर्का अध्यक्ष यादवलाई निष्कासन गरेको छ । महतोको नेतृत्वमा पूर्वराजपा धार ओली नेतृत्वको सरकारमा सामेल भएपछि यादव पक्षले प्रदेश २ बाट पूर्वराजपा धारका मन्त्रीलाई हटाएका छ । कानुनी रुपमा जसपाको छाताभित्र रहेका दुबै पक्षले फरक पार्टीको अभ्यासलाई अघि बढाएका छन् ।ठाकुर पक्षले चित्त नबुझे पार्टी छोडेर जानसक्ने चुनौति दिएका बेला उपेन्द्र यादव पक्ष पार्टीका केही अनुशासनहिन व्यक्तिलाई कारबाही गरिएको भन्दै जसपा एक रहेको दाबी गर्दै आएको छ ।

जसपाको अधिकार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिमा तत्कालीन राजपाबाट २६ र समाजवादीबाट २५ सदस्य भागबन्डाका आधारमा राखिएका थियो । पूर्वराजपा धारका रेशम चौधरी जेलमा भएकाले २५/२५ सदस्य थियो । तर ठाकुर पक्षले ओलीसरकारलाई समर्थन गरेपछि यो पक्षका ६ सदस्य यादव समुहमा गएका छन् । यादवतिरका दुई सदस्य ठाकुरको कित्तामा आएका छन् । वैधानिकतालाई लिएर निर्वाचन आयोगमा लडिरहेका जसपाका दुबै पक्षको मुद्धा छिनोफानोमा आयोगले समेत अनावश्यक विलम्ब गरेको छ । यसमा पनि प्रधानमन्त्री ओली नै हाबी भएर संसद् पुनःस्थापनापछि बहुमत पु¥याउने प्रयोजनमा लागिपरेको अड्कल भइरहेका छन् ।तर समग्र घटनाक्रम र नेताहरुको अभिव्यक्तिले रातारात कुनै पर्लय हुने परिस्थितिबाहेक जसपा एक हुने सम्भावना समाप्त भएको देखिन्छ ।