राजनीति

सांसद थापामाथि ज्यादती गरियो; व्यवस्थालाई फेल गराउन खोजियो


काठमाडौँ – गण्डकी प्रदेशका वनमन्त्री विकास लम्सालले राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापालाई दोस्रोपटक पदमुक्त गरेर ज्यादती गरिएको जिकिर गरेका छन् । उनले अहिलेको परिस्थितिलाई गलत बाटोतिर लैजाने कोसिस गरिएको पनि बताएका छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा थापालाई प्रदेशसभा सदस्यबाट बर्खास्त गर्नु व्यवस्थालाई फेला गराउने क्रियाकलाप भएको उनको भनाइ छ । “परिस्थितिलाई अराजकतातिर लगियो,” उनले भने । “कृष्ण थापा सांसद नै हुन् । उनीमाथि ज्यादती गरियो । सभामुखले संसद् चलाउन सक्नुु हुन्न । त्यो कुरा घटनाबाट प्रमाणित हुँदै गएको छ । संविधानसम्मत हिसाबले अगाडि बढ्नुपर्छ,” उनी थप्छन् ।

आफूहरुसित पनि बहुमत पुग्न सक्ने र त्यो सडकमा नभई संसद्मा देखाउनुपर्ने उनले बताए । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गएको बिहीबार सदनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकीमा नयाँ सरकार गठनको रस्साकस्सी छ । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।