राजनीति

ओली ढाल्न लागिपरेको कांग्रेस आफ्नै संकटमा


काठमाडौँ – पार्टीको १४ औं महाधिवेशन नजिकिएसँगै सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस संकटपरेको छ ।भदौभित्र महाधिवेशन नगरे वैधानिकता गुमाउनुपर्ने संकट आईपरेका बेला क्रियाशिल सदस्यतादेखि तल्लो तहका कुनै तयारी पुरा भएको छैन । तर नेताहरु भदौमा नेतृत्व परिवर्तनको माग गरिरहेका छन् ।

राजनीतिक संकटका हिसावले मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस जति दलदलमा फसेको छ, उत्तिकै सकसभदौभित्र १४ औं महाधिवेशन गरेर वैधानिकता जोगाउनुपर्नेमा छ । भदौ ७ देखि १० सम्मलाई तिथि तय गरेको कांग्रेसले समयमै महाधिवेशन गर्न नसके पार्टीकै वैधानिकता जोखिममा पर्नेछ । पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको समयसीमामा महाधिवेशन नगर्दा संविधानले दिएको थप ६ महिनाको सुविधा पनि आगामी भदौमा सकिदैछ । तर हालसम्म कांग्रेसमा महाधिवेशन हुने कुनै छनक देखाएको छैन ।

सभापति शेरबहादुर देउवाले सार्वजनिक फोरमदेखि पार्टीका बैठकमा तयारी नभएपनि तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गर्दै आएका छन् ।बुधबार पनि सभापति देउवाले वक्तव्य जारी गर्दै भदौमा महाधिवेशन गर्न आफु पूर्ण प्रतिवद्ध रहेको जानकारी दिएका छन् । तथापी त्यहीँ वक्तव्यमा क्रियाशिल सदस्यताको वितरण, वडादेखि प्रदेशसम्मका महाधिवेशनको तयारी नभएको सुचित पनि गरेका छन् ।महाधिवेशन आउन सरदर दुईमहिना बाँकी रहेका बेला एकातिर महाधिवेशनको तयारी कमजोर छ भने, त्यसमाथि कोरोना महामारी र वर्तमान अवस्थामा चुलिएको राजनीतिक संकटले झन अप्ठ्यारो थपेको छ । यसैकारण पार्टीको शिर्षपंक्ति विकल्पबारे छलफल चलाईरहेको चर्चा पनि छ।

महाधिवेशनमा ढिलाइ हुँदै जानुमा क्रियाशील सदस्यताको विवाद मुख्य कारण हो । एक वर्षअघिदेखि सदस्यताको वितरण र नवीकरणको काम थालिए पनि अझै टुंगीएको छैन । यसले आगामी पार्टीको केन्द्रीय नेतृत्व चयनसम्म प्रभाव पार्ने भएकाले सदस्यता वितरणमा पार्टीभित्रको दुई पक्षबीच विवाद हुदै आएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षसंग यही विषयमा आशंका पनि साँधेको देखिन्छ । अहिलेसम्म करिब ८ लाख सदस्यता केन्द्रीय सफ्टवेयरमा दर्ता भएकाले भदौभित्र महाधिवेशन र नेतृत्व परिवर्तन हुनुपर्ने पौडेल पक्षको भनाई छ ।

नेतृत्व पंक्तिले इच्छाशक्ति देखाएमा भदौभित्रै महाधिवेशन गर्न सकिने युवा नेताहरु बताउँदै आएका छन् । सभापति देउवाले कोरोना संक्रमण र राजनीतिक संकट देखाएर वर्तमान कार्यसमितिलाई निरन्तरता दिने हुन् कि भन्ने आशंका संस्थापन इतरपक्षमा परेको छ । तर यसका लागि संविधान संसोधन गर्नुपर्ने अर्का चुनौति थपिनेछ । यद्यपी महाधिवेशनको तयारीका लागि खटिनुपर्ने सभापति देउवा जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनको नेतृत्व समालिरहेका छन् ।यसैकारण सात दशक लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी महाधिवेशनसमेत गर्न नसकेर वैधानिकता गुमाउने खतरामा छ ।