राजनीति

बालुवाटारबाट खगेन्द्र संग्रौलालगायतका २० जना नागरिक अभियन्ता पक्राउ


काठमाडौँ — बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत २० जना पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप, अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने लगायतका विषयमा विरोध जनाउँन सडकमा उत्रिएका अभियन्तालाई प्रहरीले बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो ।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला आफूसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिक अगुवा नारायण वाग्लेले जानकारी दिए। कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेधाज्ञाको समयमा प्रदर्शनमा उत्रिएपछि आफूहरूले नियन्त्रणमा लिएको बताएका छन् । पक्राउ परेका नागरिक अभियन्तालाई अहिले महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।