राजनीति

गणेश लामा पक्राउ परेसँगै कांग्रेसको आपत्ति


काठमाडौँ – नेपाली समाजमा गुण्डा नाइकेका रुपमा छवि बनाएका गणेश लामालाई प्रहरीले गिरफ्रता गरेको विषयमा नेपाली कांग्रेस बागमती प्रदेश आपत्ति जनाएको छ । बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लामालाई राजनीतिक पूर्वाग्र राखेर कास्की प्रहरीले नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका हुन् ।

नेता बानियाँले बिहीबार एक विज्ञप्ति निकाल्दै कांग्रेसका युवा नेता भन्दै लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताए । विज्ञप्तिमा नेता बानियाँले लामालाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दाबी गरिएपनि वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दाबी गरेका छन् ।

नेता बानियाँले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएपछि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखेर अनावश्यक सोधपुछ गर्नु बदनीयत र दुर्भाग्यपूर्ण भएको बताउँदै लामालाई तत्काल छोड्न आग्रह गरेका छन् ।

निषेधाज्ञाकाको समयमा पोखरा आइपुगेका लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममा राखिएको कास्की प्रहरी प्रमुख एवं एसपी जीवनकुमार श्रेष्ठले बताए ।निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।

पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बनेका लामा प्रदेश राजनीतिले नयाँ मोड लिएका बेला पोखरामा भेटिनुले राजनीतिक चलखेल गर्नका लागि आएको भनेर आशंका पनि गरिएको छ ।

गत आम निर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।