समाचार

काठमाडौँ बढ्यो निषेधाज्ञाको अवज्ञा : सर्वसाधारणले छाडे स्वास्थ्य मापदण्डको पालना गर्न


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको पालना फितलो बन्न थालेको छ । सरकारले दैनिक उपभोग्य सामाग्रीमा दिएको छुट र कोरोना खोप अभियानमा भद्रगोल व्यवस्थापनका कारण भीड थपिएको परिप्रेक्षमा सर्वसाधारणले समेत निषेधाज्ञा पालना गर्न छाडेका छन् । अर्थात निषेधाज्ञाकै बीच पसलहरु सञ्चालन हुन थालेका छन् भने विना स्वास्थ्य मापदण्ड विना काम बाहिर निस्किनेको संख्या पनि बढ्न थालेको छ ।

कोरोना भाइरस संक्रमण जोखिम न्युनिकरणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा नाममात्रको बन्न थालेको छ । पछिल्लो समय निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको भएपनि त्यसको परिपालना भने फितलो बन्न थालेको हो । यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ २० गतेसम्म कायम गरिएको थियो । करिब एक महिनादेखि निषेधाज्ञा गरिएको भए पनि पूर्ण प्रभावकारी हुन नसकेकोले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोकेको थियो ।

उक्त अध्यादेशलाई आधार बनाएर जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा बनाएको थियो । पछिल्लो हप्ता सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएसंगै निषेधाज्ञा खुकुलो पारिएको त्यसको समेत परिपालना हुन सकेको छैन । सडकमा समेत विस्तारै सवारी चाप बढ्न थालेका छन् भने शहरका भित्रि भागमा अत्यावश्यक बस्तुबाहेक पसलहरु पनि सञ्चालन हुन थालेका छन् । यतिमात्र नभई विहान र बेलुकीको समयमा किनमेल र हिडडुल गर्नेको भीड लाग्न थालेको छ भने सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना समेत गर्न छाडेका छन् ।

प्रसाशनले जारी निषेधाज्ञामा जथाभावी घरबाट बाहिर निस्कन नपाइनेगरी र सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ । निषेधाज्ञा आदेश व्यक्तिले उल्लंघन गरे प्रमुख जिल्ला अधिकारी तत्काल १ लाख र संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन् । त्यस्तै, मास्क नलगाई सार्वजनिकस्थल आवतजावत गर्नेलाई पनि पटकैपिच्छे सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ भने हिँडडुलमा रोक लगाएको अवस्थामा बिनाकाम निस्किनेलाई २ सय रुपैयाँ जरिमाना गराउन सकिने अध्यादेशमा उल्लेख छ ।

त्यस्तै, खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइए प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ । यसबाहेक अध्यादेशबमोजिम जारी मापदण्ड पालना नगरे ६ महिनासम्म कैद र ३ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्नेछ । तर शहरका भित्रि भागमा भने विभिन्न बहानामा निषेधाज्ञा विपरितका गतिविधि भईरहेका छन् ।

हुन त संक्रमण घट्दै जाँदा र खोप लगाउनेको संख्या बढ्दै जाँदा विस्तारै निषेधाज्ञा खुकुलो बनाँउदै जानुको विकल्प छैन । तर जारी हुन्जेल भने त्यसको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । जून कुरामा सम्बन्धित निकायले विचार पु¥याउन जरुरी छ भने सर्वसाधारण स्वयमले पनि सतर्क रहन जरुरी छ । नत्र बाहिर निषेधाज्ञा प्रभावकारी रहेको बताउने र भित्रि वस्तीहरुमा अवज्ञा बढिरहने हो भने यसले महामारी विरुद्धको अभियानमा सकारात्मक नतिजा दिन सक्दैन ।