राजनीति

ओली–माधवको मन नमिलेपछि नेतृत्व खोस्ने तयारी (भिडियोसहित)

एकताका लागि पहिलेदेखि नै अनिच्छा देखाउँदै आएको भनिएका महासचिव ईश्वर पोखरेल आफु अध्यक्षको लायक रहेको बताउँछन् ।


काठमाडौँ – शीर्ष नेतृत्वको विवाद र टकरावले पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेताहरु आक्रोशित बन्न थालेका छन् । ओली–माधवले पार्टीभित्रको समस्या समाधान गर्दै जानुपर्नेमा अन्य दलसँगको सहकार्यलाई प्राथमिकतामा राखेपछि दोस्रो तहले नेतृत्वको विकल्प खोज्न भूमिका खेलिरहेको छ ।

एमालेको शीर्ष नेतृत्व आफ्नै पार्टीभित्रको असन्तुष्टि मेटाएर एकताबद्ध हुनुको साटो फरक पार्टीको समीकरणलाई सहज मानेर हिड्न खोज्दा दोस्रो तहका नेताहरुमा आक्रोश देखिन थालेको छ । बुधबार पार्टी एकताका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखे, ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।, कमरेड झलनाथ खनाल र माधव नेपाल पनि आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’ कस्ले, किन र के का लागि गर्दैछ यो सब ? भन्ने प्रश्न छोड्दै नेता भट्टराईले एमाले एकतामा समस्याको मुल जड खुट्याउने कोशिस गरेका छन् ।

ओली–माधवको शक्ति संघर्ष चुलिएर एमाले विभाजनको अन्तिम विन्दुमा रहेको बेला दोस्रो तहका नेताहरुले शीर्ष नेतृत्वकै टकराव र आनाबानीका कारण समस्या देखिएको निष्कर्ष निकालेका छन् ।

आइतबार अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन गरेको प्रस्ताव अस्विकार गर्दै माधव नेपालले सोमबार उस्तै प्रकृतिको पत्रयुद्ध जारी गरे । बरु अध्यक्ष ओलीविरुद्ध लड्न र सत्ता समीकरणका योजना असफल पार्न घोषितरुपमा विपक्षी गठबन्धनमा उभिएका नेपाल देउवा निवासमा पुगेर रणनीति बनाए । अध्यक्ष ओली पनि संकटका बेला वार्ता र सहमतीको कार्ड फ्याक्ने र माधव पक्षको अन्तर्यमा पुगेर समझदारी गर्नुको साटो अल्मल्याउने भूमिकामा छन् । बरु सत्ता सौदाबाजीकै कारण जसपालाई सरकारमा सामेल गराएका ओली माधव पक्षसँग प्रतिवादकै रुपमा उत्रिएका छन् । यसैकारण दोस्रो तहका नेताहरु अहिले शीर्ष नेतृत्वलाई पन्छाएर पार्टीको नेतृत्व लिन आफु पनि तयार भएको दाबी गर्न थालेका छन् । एकताका लागि पहिलेदेखि नै अनिच्छा देखाउँदै आएको भनिएका महासचिव ईश्वर पोखरेल आफु अध्यक्षको लायक रहेको बताउँछन् ।

शीर्ष नेतृत्वबीचको विवाद समाधान गर्न पछिल्लो समय मध्यस्थकर्ताको भूमिका खेलिरहेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसाललगायतका नेताहरुले वालुवाटार र कोटेश्वरको चक्कर काटीरहेका छन् । यहीँ कारण उनीहरु ओलीको कित्तामा सामेल भएर मन्त्री बन्न थालेको चर्चा पनि भइरहेको छ । यता ओली पक्षबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र बिष्णु रिमालसमेत निरन्तर छलफलमा छन् । मंगलबार पनि ओली पक्ष र माधव पक्षका ४/४ जनाले रातिसम्म करिब ४ घण्टा लामो वार्ता गरेर एकताको प्रयास गरेका थिए । निरन्तरको वार्ता र संवादपछि पनि ओली–माधवको मन माझ्न असफल नेताहरुले अब शीर्ष तहकै विकल्प खोज्नुपर्ने बेला भएको दाबी गर्छन् । तर २५ वर्षको उमेरमा पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गरेको इतिहासका अघि ७० वर्षका वृद्धले चलाईरहेको एमालेभित्र दोस्रो तहका नेताहरुलाई विकल्प खोज्न भने चुनौति नै देखिन्छ ।