राजनीति

मन्त्रिपरिषद् विस्तारमा खनाल–नेपालसमूहलाई पनि सामेल गराउने ओलीको तयारी, पूर्वमओवादी केन्द्रबाट नयाँ अनुहार देखिन सक्ने


काठमाडौँ – पार्टी फुटको अवस्थामा पुगेको बेला सरकारमा रहेको ओली समूह अबको मन्त्रिपरिषद् विस्तारमा खनाल–नेपाल समूहलाई पनि लिएर जाने तरखरमा देखिएको छ । एमालेको विवाद मिलाउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुबीच निरन्तर संवाद भइरहेको छ । हिजो मात्रै पनि दोस्रो तहका नेताहरुले करिब चार घण्टा लामो छलफल गरेका थिए ।

विवाद मिलेमा खनाल–नेपाल समूहलाई पनि सरकारमा सामेल गराउने तयारी छ । खनाल–नेपाल समूहका नेताहरुलाई मन्त्री बनाउन मन्त्रिपरिषद् विस्तारमा पर्खिएको स्रोतको भनाइ छ ।

तर, पार्टी एकताका लागि ओलीको ६ बुँदे प्रस्तावसहितको आह्वान खनाल–नेपाल समूहले अस्वीकार गरेको छ । उसले पनि ६ बुँदे प्रस्तावको जवाफ ६ बुँदामा नै फर्काएको छ । यी गतिविधिले पार्टी एकता सम्भव नभएको नेताहरु बताउँछन् ।

यस्तै मन्त्रिपरिषद् विस्तारकै क्रममा माओवादी केन्द्र छोडेर एमालेमा सामेल भएका नेताहरुलाई पनि समेट्ने ओलीको तयारी छ । तर रिक्त मन्त्रनलाय पूर्तिका लागि यसअघिकै पूर्वमाओवादी नेताको अनुहार मन्त्रिपरिषद्मा दोहोरिने सम्भावना भने कम छ । तीमध्ये धेरै नयाँ अनुहार हुने बताइएको छ । “पूर्वमाओवादीबाट यसअघि मन्त्री बनेका सबै दोहोरिने सम्भावना कम छ । उहाँहरुबाट केही मन्त्री बन्ने र केही नयाँ अनुहारले पनि प्रवेश पाउने सम्भावना छ,” स्रोतले भन्यो ।

उनीहरुको तफर्बाट मन्त्री बन्ने केही नेताहरुको नाम टुंगो लागिसकेको छ । राष्ट्रियसभामा पराजित भएका चन्द्रबहादुर खड्काको नाम पनि मन्त्री बन्ने ‘लिस्ट’मा परेको छ । उनी एमाले प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो । लुम्बिनी प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा उनी पराजित भएका थिए ।
त्यस्तै, ज्वाला शाह पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । उनी बारा ३ (क)बाट निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रबाट जितेकी उनी फागुन २३ पछि एमालेमै रहँदा पद रिक्त हुन पुगेको थियो ।
प्रधानमन्त्री ओलीले यही जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा)लाई समावेश गरेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सामेल भए। नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बने ।

एमालेबाट चार मन्त्रीहरू पूर्ववत् रहे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ दोहोरिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका १३ मन्त्रीहरु क्याबिनेबाट बाहिरीए ।

त्यस्तै, मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भए, रघुवीर महासेठ उपप्रधानामन्त्री तथा परराष्ट्र र शेरबहादुर तामाङले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए । हाल मन्त्रिमण्डलमा नेकपा एमालेको तर्फबाट ६ मन्त्री छन् ।

ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि गरी सात मन्त्रालय आफैँसँग राखेका छन् ।
मन्त्रिपरिषद् कहिले विस्तार गर्ने भन्ने टुंगो लागिसकेको छैन । आन्तरिक छलफलले भने तीव्रता पाएको छ ।