समाचार

भरपर्दाे शिक्षण विधिबारे ध्यानै नदिई पढाई सुरु, विद्यार्थीहरु चिन्तित


काठमाडौँ – कोरोना भाइरस महामारीले शैक्षिक क्षेत्र लगभग पूरै प्रभावित भएको छ । दुई शैषिक सत्र प्रभावित हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भइरहेपनि अधिकांश विद्याललयहरुले चालु शैक्षिक सत्र सिद्ध्याएर असार १ गतेदेखि नयाँ सत्र सुरु गर्दैछन् । पढाईको गुणस्तर वास्ता नगरी निरन्तर शैक्षिकसत्र मात्रै अघि बढाउनु उचित होला त ?

कोरोना महामारीका कारण दुई वर्षको शैक्षिक क्यालेण्डर नराम्ररी प्रभावित भएको छ । यस वर्षको शैषिक सत्र पनि अन्तिम परिक्षा लिनै नपाई तितरवितर हुनु पर्याे । धेरै समय त भौतिक पठनपाठन रोकिएका कारण यो वर्ष पाठ्यक्रम समेत खुम्च्याइएको थियो । त्यही खुम्च्याइएको पाठ्यक्रम सिध्याउन पनि दुई महिना समय लम्ब्याइयो ।

देशभरका नीजि तथा सामूदायिक विद्यालयहरुमा कोर्षमा भए अनुसार पठनपाठन सम्पन्न भयो त ? यसको सजिलो जवाफ भेट्न मुस्कील छ तर भौतिक उपस्थीतिलाई जोड दिएका अधिकांश विद्यालयहरुले कोर्ष पूरा गर्न सकेका छैनन् । अनलाइन विधिबाट कक्षा सञ्चालन गरेका भने कोर्षको नजिक पुगेका छन् ।

यद्यपी अनलाइन विधिबाट अध्ययन गरेका विद्यार्थीहरुले विविध समस्याका कारण पठाइको गुणस्तर भने प्राप्त गर्न सकेका छैनन् । कतै स्कूल दुई महिनामात्र भौतिक सञ्चालन हुन पाए त कतै ६ महिना मात्रै । वैकल्पिक पठनपाठन पनि एकैनास भएन । त्यसो त विद्यार्थीको पठाई एक विधि मात्रै जस्तो भएको देखिएको छ । गत वर्षजस्तै यो वर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा गरिने बताइएको छ । निजी स्कूलहरूको हकमा औसत ८० प्रतिशत पाठ्यक्रमको पढाइ हुन सकेको देखिन्छ भने अन्यको हकमा त्यो ६० देखि ७५ प्रतिशत रहन पुग्यो ।

तथापी नयाँ शैक्षिक सत्र सुरु गर्नका लागि सरकारी संयन्त्र र नीजि विद्यालय सञ्चालकहरु लागि परेका छन् । आँकडा जस्तो भए पनि अब लगभग सबैजसो विद्यालयहरूले यो साताभित्र यो शैक्षिक सत्रको मूल्याङ्कनका बाँकी काम सिद्ध्याएर अर्को सातादेखि नयाँ सत्रमा प्रवेश गर्न लागेको विद्यालय सञ्चालकहरुको भनाई छ ।

शैक्षिक सत्र त जसोतसो सकिए पनि मुख्य चुनौती त्यस अवधिमा आम विद्यार्थीहरूलाई कत्तिको गुणस्तरीय सिकाइ उपलब्ध भयो भन्ने रहेको जानकारहरू बताउँछन् । भूगोलको कठिनाईका कारण असहज वातावरणमा अध्ययन गरेकाहरुलाई आगामी शैक्षिक सत्रमा माथिल्लो कक्षामा अध्ययन गर्न थप कठिनाई हुने देखिन्छ । खासगरी कक्षा १० का विद्यार्थी जो आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा पुग्दैछन् उनीहरूलाई त्यस्तो ब्रिजिङ् पढाइ आवश्यक पर्ने देखिन्छ । त्यसो त जसोतसो शैक्षिक सत्र सिद्ध्याउने चक्करमा मात्र नलागि गुणस्तरमा पनि ध्यान दिन जरुरी छ ।