राजनीति

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपिएको प्रधानमन्त्रीको भनाइ


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताउनुभएको छ । कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड २९ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा चुनौती थपिएको उल्लेख छ । यद्यपि सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको ओलीको दाबी रहेको छ । लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको ओलीले बताउनुभयो ।

आगामी दिनमा धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तारमार्फत् देशको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास प्रधानमन्त्री ओलीको रहेको छ ।