देश

ओली माधवलाई फकाएर एमाले जोगाउन खोज्दै, अब के हुन्छ देउवाको बहुमत ?

ओली नै प्रधानमन्त्री हुने रणनीति


काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेपछि एमाले विभाजन रोकिने आशा नेता कार्यकर्तामा पलाएको थियो । तर त्यसको समिक्षा गर्न बसेको माधव नेपाल समूहको बैठकले ओलीको प्रस्ताव विश्वासिलो नभएको भन्दै अदालतमा पेश भएको हस्ताक्षर फिर्ता लिन नसकिने निष्कर्ष निकालेपछि एमाले एकता पुन अनिश्चित बनेको छ ।

सत्तारुढ एमाले राजनीतिक रुपमा विभाजित भइसकेको छ । तर, कानुनी रुपमा अझै विभाजित नभएकाले जस र अपजसकोखेतीमा दुबै पक्ष लागेका छन् । अध्यक्ष केपी ओलीले ६बुँदा अघि सारेर एकताका लागि आइतबार अबेर प्रस्ताव गरे । ओलीले २०७५ जेठ ३ पूर्वको अवस्थामा एमालेलाई फर्काउने र नेताहरुलाई कुनै पनि कारबाही नगर्ने भन्दै सर्वोच्चमा दायर मुद्धाबाट एमालेका निवर्तमान सांसद फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । ओली पक्षले यसलाई मनैदेखि एकताको प्रस्ताव भनेको छ ।

तर, पार्टी र देश संचालन गरिसकेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले ओलीको एकता प्रस्ताव आँखामा छारो हाल्ने खालको भएको निष्कर्षमा पुगेको छ । ओलीको ६ बुँदे प्रस्ताव अस्पष्ट रहेको भन्दै खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक अपिल गरेका छन् ।

ओलीको प्रस्तावपछि खनाल–नेपाल समूहमा विभाजन आउने आकलन गरिएपनि संयुक्त अपिल आएको छ । यो समूहले बल फेरि ओलीकै कोर्टमा फकाइदिएको छ । प्रस्तावमा आएका बुँदा अस्पष्ट भएको र एकताको मनसायका साथ नल्याइएको निष्कर्ष खनाल–नेपाल समूहको छ ।

विभाजनको डिलमा पुगेको पार्टी फुट्न जति सजिलो छ, जुट्न कैयौँ गुणा बढी गाह्रो छ । दुबै पक्षका अनेक दाउपेच छन् । आशंका पनि उत्तिकै छन् । फुटेपनि जुटेपनि एमाले ओरालो बाटोमा लागेको विश्लेषण हुन थालेको छ ।

नेपालका कम्युनिष्ट पार्टी विभाजित हुनु नौलो कुरा होइन । टुटफुटकै अवस्थामा नेपाली कम्युनिष्टहरु गुज्रदै आएका छन् । झण्डै दुई तिहाईको कम्युनिष्ट सरकार सत्ता जोगाउनकै लागि अनेक उपाय खोज्नुपर्ने अवस्थामा पुगेको छ ।