राजनीति

पार्टी एकताको आह्वान खारेज हुने शंका


काठमाडौँ – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ ।

प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी छ ।
एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले भने, ‘आज १० बजे स्थायी कमिटीका साथीहरुसँग छलफल गर्छौं र औपचारिक धारणा बनाउँछौं ।’

अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद् विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।

त्यस्तै नेपाल निकट मानिने नेतृ रामकुमारी झाँक्रीले ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतका लागि मात्र भएको बताएकी छन् । सामाजिक सन्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन,’ उनले लेखेकी छन्, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।’ साथै उनले पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको भन्दै यसप्रति भ्रममा नपर्न अनुरोध गरेकी छन् ।