काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढाएको छ । आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा प्रतिलिटरमा दुई रुपैयाँले वृद्धि गरेको हो ।
मूल्यवृृृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । निषेधाज्ञाकै अवधिमा दुई पटक मूल्य बढाएको छ । गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यको सूचीअनुसार नै मूल्य समायोजन गरेको आयल निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।
प्रतिक्रिया