राजनीति

कामचलाउ सरकारमा ३ उपप्रधानमन्त्री, १२ मन्त्री लिए शपथ


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि भएको छ । आज वालुवाटारमा दिनभर भएको वार्तापछि प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा सामेल गराएका हुन् ।

प्रतिनिसभा विघटन सम्बन्धी मुद्दाहरु सर्वोच्चमा विचाराधीन रहेको र उनको आफ्नै पदको सुनिश्चिता नभएका बेला ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेट्दै मन्त्रिपरिषदमा हेरफेर गरेका हुन् । केही बेर अघि शनिबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

ओलीले क्याबिनेटमा रहेका चारजना बाहेक बाँकी एमालेबाट मन्त्री भएका सबैलाई निकालेका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि निरन्तरता पाएका छन् ।

मन्त्री पदको शपथ लिँदै । बालुवाटार स्रोतका अनुसार ओलीले गृह, रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैँसँग राखेका छन् । ओेलीले एमालेबाट रघुविर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिएर शपथ गराइएको छ भने जसपाबाट शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकबाल मियाँले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जसपाबाट चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री भएकी छिन् ।