विदेश

साउदीले जारी गर्याे नयाँ नियम; देश छोड्नु अघि सबै बक्यौता चुक्ता गर्नु पर्ने


काठमाडौँ – नेपालीको रोजगार गन्तब्य बन्दै आएको साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात) कार्यलयले बुधबार अर्थात् जुन २ तारिखदेखि साउदीले छोड्ने एक्जिट भिसाका सम्बन्धमा बिभिन्न नियमहरु सार्वजनिक गरेको छ । साउदी सरकारले अब एक्जिट भिसा लगाउनु अघि गाडी, मोबाइल, बैंकलगायत अन्यको बिल भुक्तानी गर्नुपर्ने नयाँ नियम लागू गरेको हो ।

नयाँ नियम अनुसार एक्जिट भिसा लिनु, दिनु अघि जाने ब्यक्तिका नाममा गाडी दर्ता देखिनु हुन्न, कुनै पनि किसिमको लोन (जस्तैः मोबाइलका बिल, बैंकका लोन आदि) बाँकी देखिन नहुने जनाएको छ ।
एक्जिट भिसा म्याद सामान्यतयाः ६० दिनको हुन्छ तर वर्तमान नयाँ नियम बमोजिम कामदार स्वयम्ले निकालेको एक्जिट भिषाको म्याद १५ दिनको मात्रै हुन्छ, अर्थात यो भिसा जारी भएको मितिले १५ दिनभित्र साउदी अरब छोडिसक्नु पर्ने पासपोर्ट महानिर्देशनालयलाई उदृत गर्दै साउदी गजेटले जनाएको छ ।
तोकिएको म्याद भित्र कामदारले साउदी नछोडेमा कम्पनी या मालिकले एक हजार रियाल जरिमाना तिर्नुपर्नेछ । यसैगरी, करार अवधि नसकिदै साउदी छोडेमा पुनस् फर्किन नपाउने गरी प्रतिबन्ध लगाइने महानिर्देशनालयले जनाएको छ ।