राजनीति

आफ्नो मात्र होइन सबैका पार्टी फुटाउँदै हिड्दै ओली अब पालो कांग्रेसको ? (भिडियोमा)


काठमाडौँ – राजनीतिक दलहरुबीच देखिएको द्धन्द्ध, असमझदारी र टुटफुटले मुलुकको राजनीति तरल अवस्थामा छ । स्थापित भइसकेका देखि वैकल्पिक शक्तिका रुपमा उदाएका सबै दल विभाजनकै खतरामा छन् । अधिकांश पार्टीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली हाबी हुँदा विभाजनको संघारमा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति आर्जन गर्ने हुटहुटीले तत्कालिन नेकपा विभाजन भयो । माओवादी केन्द्र र एमाले मिली बनेको नेकपामा प्रथम अध्यक्ष रहेका ओली र दोस्रो अध्यक्षको भूमिका रहेका पुष्पकमल दाहालबीचको शक्ति टकरावले छिन्नभिन्न भएको नेकपालाई फागुन २३ मा आएर त सर्वाेच्च अदालतले नै विभाजन गरिदियो । त्यसयता माओवादी केन्द्र र एमाले पुरानै हैसियतमा फर्किएर राजनीति गरिरहेका छन् । तर पार्टी पुर्ववत अवस्थामा फर्किएपछि पनि ओलीको शक्ति आर्जन इच्छा शान्त भएको छैन । फागुन २३ पछि एमालेको अध्यक्षमा फर्किएका ओलीले नेकपा हुँदा प्रचण्ड–माधवको मोर्चा बनाएर आफुविरुद्ध लागिपरेको माधव नेपाल पक्षलाई निषेध गरेर अघि बढ्न खोज्दा एमाले पनि विभाजनको अन्तिम विन्दुमा छ । पटकपटक वार्ता र संबाद भएपनि एमाले एक रहने सम्भावना न्यून देखिन्छ ।

प्रधानमन्त्री ओलीले पहिलोपटक पुस ५ मा संसद् विघटन गर्दा नेकपामा शक्ति टकराव चुलिएको थियो । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुको साटो प्रतिवादमै उत्रिदा संसद् विघटन निम्तियो । अहिले एमालेभित्र अन्तरसंघर्ष चर्किएर माधव पक्ष फरक पार्टी दर्ताका गरेर अघि बढ्ने सुरसारमा छ । नेताहरुका बीच पदीय भागबण्डा नमिल्दा टुटफुटले प्रसय पाएको छ । उसो त एमाले जस्तै अवस्थामा संसदको चौथो शक्ति जनता समाजवादी पार्टी पनि छ । पार्टीभित्र पूर्व राजपा धार र समाजवादी पार्टीबीचको शक्ति टकरावले विभाजन नभई सुखै नपाउने देखिन्छ । त्यहाँ पनि प्रधानमन्त्री ओली नै हाबी छन् । २०७७ को बैशाख १० गते पार्टी एकता हुँदा प्रधानमन्त्री ओलीले समाजवादी पार्टी फुटाउने लक्ष्यसहित दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि हतारहतार एकिकरण गरिएको थियो । तर एकिकरणले पूर्णता नपाउँदैे जसपा फुटको अन्तिम चरणमा छ ।

प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पूर्व राजपालाई ब्यूँताएर सरकारमा सामेल हुने तयारीमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई प्रचण्ड देउवासहितको मोर्चामा उभिएर ओलीबाट सत्ता हत्याउने दाउमा छ । यसैकारण पार्टीभित्र एकमत नहुँदा जसपामा विभाजन अनिवार्य बनेको हो । जसपा जस्तै एकता राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत भएको थियो । तीन अध्यक्ष रहेको राप्रपाबीचमा पनि ओली नै हाबी देखिए । अध्यक्ष कमल थापा ओलीसँग नजिकिएपछि यहाँ पनि तीन अध्यक्षबीच मतभेद चुलिएर पार्टी विभाजनकै खतरामा पुगेको छ । ओलीकै कारण वर्तमान राजनीतिक गतिरोध बढ्दै गएको छ । अहिले त ओली निकट नेताहरु आवश्यक परे कांग्रेस र माओवादी नै विभाजन गर्न सक्ने बताउँछन् । जनयुद्धबाट माथि उठेर बनेको माओवादी पनि छिन्नभिन्न अवस्थामा छ । कांग्रेसभित्र पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको टकराव बेलाबेला चर्चामा आईरहन्छ । त्यसैले नेपालमा प्रजातान्त्रिक हुन् वा कम्युनिष्ट, आफ्नै अस्तित्वलाई तिलाञ्जली दिएका पार्टी टुटफुटको अर्काे परिचय बनेका छन् ।