राजनीति

एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । ब्रैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
हिजोको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन । बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो । आज पनि नेताहरुको कारबाहीबारेको एजेन्डा नभएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

यसअघि मंगलबार पनि ओलीले बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए। बैठकमा माधवकुमार नेपाल पक्षका थप १२ जना नेताहरुलाई अनुशासन उल्लंघनको कारवाही गर्ने अनुमान गरिएको थियो। तर बैठक अगावै पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका नेताहरुका मामिलामा छलफल गर्ने एजेण्डा बैठकमा नरहेको जानकारी दिएका थिए।

ओलीले नेपाल पक्षका १२ जना नेतालाई यही जेठ १२ गते स्पष्टीकरण सोधेका थिए। त्यसअघि जेठ १० गते उनले नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्काशनको निर्णय स्थायी कमिटी बैठकबाट गराएका थिए।