राजनीति

जसपाका चार नेता पार्टी सदस्यबाटै निष्कासित, दुबै समूहले निर्वाचन आयोगमा पठाए पत्र (भिडियोसहित)


काठमाडौँ – जनता समाजवादी पार्टीमा स्पष्टिकरण सोधासोधको अवस्थाबाट एकले अर्कालाई निष्कासन गर्न थालेका छन् । दुई पक्षले मंगलबार एकले अर्कालाई कारवाही स्वरुप पार्टीबाट निकालेका छन् । बल्ल बल्ल जुटेर एक भएका मधेषवादीहरु फेरि छिन्नभिन्न भएका हुन् ।

३२ सिट सहित प्रतिनिधिसभामा तेस्रो शक्ति बनेको जनता समाजवादी पार्टी फेरि छिन्न भिन्न भएका छन् । मंगलबारसम्म आइपुग्दा जसपामा उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेतालाई जसपामा साधारण सदस्य समेत नरहने गरि निष्काष्सन गरेको छ ।

पार्टीमा सरसल्लाहविना सरकारमा सामेल हुने एकतर्फि निर्णय गरेको र अनुशासनको हद नाघेको भन्दै निष्कासन गरेको हो । निष्कासित हुनेमा कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला रहेका छन् । उपेन्द्र यादव समूको यस्तो निर्णय आएको केही घण्टामा महन्थ पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

इटको जवाफ इटले फर्काउने नीति लिइएको जसपामा निष्कासनको यो हदले पार्टी नै समाप्तिको दिशामा उन्मुख गराएको छ । प्रतिनिधिसभामा तेस्रो शक्तिको रुपमा उदाएको जसपा एक बर्ष पनि नपुग्दै विच्छेदको अवस्थामा आइपुगेको हो । अघिल्लो वर्ष ओली सरकारले पार्टी विभाजनको अध्यादेश जारी गरेपछि रातारात एक भएको राजपा र समाजवादी पार्टी फेरि उही हालतमा फर्किएको हो । अब यो पार्टी फुट्नलाई संविधानको एउटाा धाराले बाँध्ने बाहेक अरु कुनै सीमा छैन । संगठन, शक्ति र समूहमा तल्लो कित्तासम्मै स्पष्ट विभाजन भइसकेको यो पार्टीलाई संविधानले रोक्नु बर्षे भेललाई रोक्नु जस्तै हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष ठाकुरसहित चार नेतालाई निषकासन गरेको जानकारी पत्र निर्वाचन आयोगलाई गराएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ठाकुर, महतो, शुक्ल र कर्णले पार्टी विधान, नीति र निर्णयहरूको विपरित कार्य गरिरहेको सन्दर्भमा जेठ ९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको र त्यसको जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३, पार्टीको अन्तरिम विधान २०७७ अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

यस्तै पत्र महन्थ ठाकुरले पनि आयोगलाई दिएपछि जसपाको मुद्या सर्वाेच्चसम्म पुग्ने र एमाले, माओवादी केन्द्रकै हालतमा जसपा पुग्ने लक्षण देखिएको छ । ठूलो दलको दल दलमा यसपटक जसपा गोरुको जुधाई बाछाको मिचाई हुने देखिएको छ । हैन भने जसपामा पार्टी एकताको भावना टुट्दै गएको छ र ठूला दल झैँ दुई पक्षमा जसपाका नेताहरु कित्ताकाट भएका छन् ।

अघिल्लो पटक संसद पुनस्थापना भएपछि जनतासमाजवादी पार्टी राजनीतिक निकासको निर्णायक मानिएको थियो । तर यो दलका शिर्ष नेताहरुले पार्टीको अस्तित्व जोगाउन भन्दा ठूला दलका नेतालाई खुसी पार्न र सरकारमा सहभागिता जनाउने एजेण्डालाई मुख्य विषय बनाए । त्यसो त आज आफ्नै पार्टीलाई तिलाञ्जली दिने अवस्थामा मधेषवादी नेताहरु आइपुगे ।