समाचार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, भोलिसम्म निर्णय आउने


काठमाडौँ – उपत्यका प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप्नेबारे छलफल भएको थियो । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिइने भएको छ ।

निषेधाज्ञा एक साता लम्ब्याउने की १० दिन भन्नेबारे अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले योहोखबरलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘आज उपत्यकाको अवस्थाबारे छलफल भयो, निषेधाज्ञा एक साता लम्ब्याउने की १० दिन भन्नेबारेमा छलफल भइरहेको छ, यो विषयमा भोलिसम्म निर्णय हुन्छ ।’

कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।