काठमाडौँ – चीनले अनुदानमा दिएको कारोना विरुद्धको खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय गरिएको छ । स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी गराउनुभयो ।
चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये साढे ८ लाख बढी खोप नेपाल आइसकेको छ । जसमध्ये ८ लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बाँकी २ लाख खोप भने हिमालयन एयरलाइन्सले ल्याउने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए । बैठकले चीनबाट अनुदानमा आउने खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको छ।
डा. गौतमले अहिले अन्य उमेर समूहमा जानलाई खोपको उपलब्धता कम भएको भन्दै ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको बताउनुभयो। तर हिमाली जिल्लाहरूमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने डा. गौतमले बताउँनुभयो । डा. गौतमले जिल्लाहरूमा खोप पठाउँदा दोस्रो मात्राको सुनिश्चिता गरेर मात्र पठाउने बताउनुभयो ।
प्रतिक्रिया