राजनीति

एमालेका दोस्रो वरियताका नेताहरुबीच रातभर छलफल, रोकिएला कारवाही ?


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आज बस्ने स्थायी कमिटी बैठकले यसअघि स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाही गर्ने सम्भावना छ ।

सोही सम्भावना टार्नका लागि एमालेका दोस्रो वरियतामा रहेका नेताहरुबीच सोमवार पनि राति अबेरसम्म काठमाडौँको दरवारमार्गस्थित होटल याक एण्ड यति होटलमा छलफल भएको छ । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको पक्षबाट वार्ता गरेका छन् । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए ।

यसअघि नै माधव नेपाल, भीम रावल नेताहरुलाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।

आज बस्ने स्थायी कमिटी बैठकले १२ नेताहरुलाई समेत कारवाही गर्ने संस्थापन पक्षको तयारी थियो । वार्ता सकारारात्मक भएको भन्दै एक नेताले नेताहरुमाथिको कारवाही रोकिनसक्ने एक नेताले बताउनुभयो । दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित हुँदै आएका छन् । दोस्रो वरियताका नेताहरुकै आग्रहमा दुई दिन बैठक स्थगित भएको बुझिएको छ ।