याद छ त्यो दिन ?
एकाबिहानै भक्कानिएर रोएकी थियौ तिमी
सोधेँको थिएँ, कारण त होला नि !
भन्यौ, मायामा
कति कुरा ओठले बोल्न सकिन्नँ
चाहेर पनि
मनका पीडा खाल्न सकिन्नँ
तर याद राख्नू
माया लाग्नेको सबै कुरा राम्रो लाग्नुपर्छ
अवगुण पनि सहजै पचाउन सक्नुपर्छ
मायामा रिस हुनु हुँदैन
घृणा हुनु हुँदैन
तिरस्कार हुनु हुँदैन
मायामा त केवल
मायै–माया मात्र हुनुपर्छ ।
स्वीकार गरेँ तिम्रा ती सबै शर्त
समर्पण गरेँ आफूलाई
तर मान्छेको मन बदलिन कतिबेर !
अचेल तिम्रो मायामा
घृणै–घृणा देख्छु
तिरस्कारै–तिरस्कार भेट्छु
नबोलेरै छातीमा रोपिइरहेछन् छुरा
तर पनि प्रतीक्षामा हुन्छु
तिम्रो कोठाको ‘हरियो बत्ती’
पटक–पटक चिहाइरहन्छु
कतै यी शब्दले पर्खिरहेका त छैनन् ?
पुग्नु’भो ?
खानु’भो ?
अझै सुत्नु’भा छैन ?
तर अचेल बिराना भए यी शब्द
आशा अझै मरेको छैन
एकदिन आउनेछौ र भन्नेछौ
तपाईँले मलाई अझै बुझ्नुभएन हजुर !
यी त सब भाववाचक हुन् ।
प्रतिक्रिया