राजनीति

नवनियुक्त ६ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस


काठमाडौँ – सुदूरपश्चिम सरकारमा शुक्रबार नियुक्त छ मन्त्री र एमाले संसदीय दलका सचेतकलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीले सिफारिस गरेको छ । ६ मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरणको जवाफ नबुझाएपछि एमाले प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रलाई सिफारिस गरेको हो ।

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले स्पष्टीकरणको जवाफ नआएपछि पार्टीको केन्द्रमा कारबाहीको सिफारिस गरेको जानकारी दिए । कारबाहीका लागि सिफारिस हुनेमा शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामी रहेका छन् । कारबाही सिफारिस भएका ६ मन्त्री र सचेतक माधवकुमार नेपाल पक्षका हुन् भने केपी शर्मा ओली पक्षको प्रदेश कमिटी छ ।

गत सोमबार भएको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्‍ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि शुक्रबार मन्त्रिमण्डल विस्तार गरिएको थियो । एमाले प्रदेश कमिटीले यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अहिलेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई एमालेको साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय गर्दै केन्द्रलाई सिफारिश गरिसकेको छ ।