देश

निषेधाज्ञाको मारमा कृषकहरु,लाखौंको तरकरी बारीमै कुहिन थाले


काठमाडौँ – देशको सबै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको महिना दिन बढी भईसकेको छ । उपत्यकामा लागू गरेदेखि सुरु भएको निषेधाज्ञा अहिले देशको सबै जिल्लामा चलिरहेको छ । यस्तोमा तरकारीलगायतका दैनिक उपभोग्य सामानाको मूल्य आकाशीयको छ । शहरमा बस्ने मानिसहरु जतिसुकै मूल्य बढे पनि खरीद गर्न बाध्य छन् । लकडाउनकै सामान्य अवस्थामा त चुस्त हुन नसकेको अनुगमन निषेधाज्ञामा हुने त कुरै भएन । तर गाउँका वास्तविक किसानहरुको भने यही निषेधाज्ञाकै कारण आफूहरुले लगाएको तरकारी विक्री हुन नसकेर बारीमा नै कुहिएर फाल्नु पर्ने स्थिति छ ।
नेपालको पहाडी जिल्ला म्याग्दीमा पनि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । यसका कारण म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।

बजारसम्म तरकारी पुर्याउन नसक्दा र पुर्याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्माले बताउनुभयो । सात रोपनी जग्गामा लगाएको तरकारी बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने वा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उहाँको भनाइ छ । गतवर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्याएको उहाँको भनाइ छ ।

त्यस्तै अवस्था छ खबराकै अर्का अगुवा कृषक चन्द्रबहादुर कार्कीको पनि । कार्कीले करिब १० रोपनी जग्गामा लगाएको तरकारी खेती अहिले पशुको आहारा बनेको छ । ‘दश रोपनीमा लगाएको मुला, काँक्रो, धनियाँ, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएको छु’, कार्कीले भन्नुभयो ‘गएको वर्ष लकडाउन भए पनि चार लाख रुपैयाँ आम्दानी भएको थियो, तर यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ ।’

तरकारी फल्ने सिजनमा नै निषेधाज्ञा भईदिँदा लाखौंको आम्दानी हुने तरकारी पशुलाई खुवाउनु पर्ने बाध्यता अहिले किसानहरुलाई छ । तरकारीको बिक्रीले नै घरखर्च टार्ने यहाँका किसानहरु आम्दानी नभएपछि मर्कामा परेको छन् । म्याग्दीमा दुई सयभन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ती सबै कृषकले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा खेतबारीमै खेर जान आएको हो । यहाँका कृषकहरुले तरकारी बिक्री गरेर वार्षिक १० करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।