कोरोना विशेष

भियतनाममा भेटियो हावा बाटै सर्न सक्ने कोरोनाको नयाँ भेरियन्ट, नेपालजस्ता देश चनाखो हुन आवश्यक(भिडियोसहित)


काठमाडौँ – नेपालजस्ता कोरोनाको दोश्रो लहरसंग जुधिरहेका देशहरुलाई अर्को आपत आईपरेको छ । भियतनाममा नयाँ प्रकारको भेरियन्ट देखिएपछि दोश्रो लहरबाटै पार नपाएका देशलाई तेश्रो लहरको समेत सामना गर्नुपर्ने देखिएको हो । तर विज्ञहरु भने यस्ता नयाँ भेरियन्ट आईरहेने हुनाले आत्तिने भन्दा पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छन् ।

दोश्रो लहरको कोरोना महामारीका कारण विश्व नै हालयकालय बनिरहेका बेला भियतनामा नयाँ भेरियन्टको कोरोना फेला परेको छ । भारत र बेलायतमा भेटिएको भेरियन्टको मिश्रित रुपमा बताईएको यो स्वरूपको भाइरस तीव्र रुपमा हावामार्फत फैलिने भियतनामी अनलाइन भीएन एक्सप्रेसले दाबी गरेको छ । गत वर्ष कोरोना नियन्त्रणमा सफलता पाएको भियतनाममा नयाँ भेरियन्टले भने तिब्र मात्रामा कोरोना संक्रमण बढाईरहेको छ ।

गत अप्रिल यता मात्रै भियतनामका ६३ सहरमध्ये ३१ मा करिब ३ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ । तर विज्ञहरु भने यस्ता भेरियन्टहरु देखा परिरहने हुनाले आत्तिन भन्दा त्यसविरुद्धको तयारी थाल्नुपर्ने बताउछन् । यसअघि नै ७ ओटा भेरियन्टसंग जुधिरहेको भियतनाममा नयाँ भेरियन्ट देखिनु नयाँ कुरा नभएको उनीहरुको भनाई छ । विज्ञका अनुसार जुनसुकै भेरियन्ट आएपनि त्यसले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढि असर गर्ने भएकोले यथासक्य चाडो सबैलाई खोप लगाउनुनै कोरोनाबाट बच्न एकमात्र उपाय हो ।

तर नेपालमा भने खोप अभावका कारण पहिलो डोज पाएका धेरैले दोश्रो डोजको खोप पाएका छैनन् । यसरी दोश्रो डोजको खोप नपाउने वृद्धावृद्धाको संख्या नै १३ लाख ६४ हजार बढि रहेको छ । ८ हप्ता पछि दोस्रो डोज दिनुपर्ने खोप लगाउनुपर्ने भएपनि भारतबाट आयात हुने खोप नआएपछि वृद्धवृद्धालाई लगाउने दोस्रो डोज खोप अभाव भएको हो । एकातर्फ सबै नागरिकलाई खोप लगाउनुपर्ने चर्को दबाब र अर्कातर्फ पहिलो डोज पाएकाले नै दोश्रो डोज नपाउदा पनि सरकार भने सुस्त नै छ । बरु उत्पादक नभएपनि दक्षिण एसियामा खोप अभियान सुरु गर्ने दोश्रो राष्ट्र भएकोमै गर्व गर्नमै सरकार व्यस्त देखिएको छ ।

यो बीचमा चीनले थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको बाहेक सरकारले अझै अरु खोप ल्याउन सक्ने देखिएको छैन । सबै नेपाली नागरिकलाई निशुल्क खोप लगाउने उदेश्य अनुरुप खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन भएको छ तर खोप कहिले आउने भने टुङ्गो छैन ।

पहिलो चरणको अभियान सुरु हुँदा सरकारले देखाएको खोपको स्रोत हेर्न हो भने यतिवेला लक्षित समुह सबैले खोप प्राप्त गरिसक्नुपर्ने हो । यसअवधीमा सरकारकै लाचारीपनका कारण भारतबाट आउने खोप पनि रोकियो भने अन्य विकल्पका बारेमा समेत सरकारले प्रभावकारी कदम चाल्न सकेन । परिणामत कोरोनाका बढि संक्रामक र घातक नयाँ नयाँ भेरियन्ट देखिरहेका अहिलेको अवस्थामा नेपालमा अर्को लहरको समेत खतरा बढेको छ ।