खेलकुद

नेपाली फुटबल टोली कुवेत प्रस्थान गर्दै


काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली आईतवार इराकबाट कुवेत प्रस्थान गर्दैछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकि खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गर्न लागेको हो । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले टिम कुवेत प्रस्थान गर्ने बारे जानकारी दिएका हुन् ।

इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गर्न लागेको हो । इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टिमसँग ६–२ गोल अन्तरले पराजित भएको थियो । यसलाई विश्वकप तयारी खेलको रुपमा हेरिएको छ ।

नेपालले आगामी ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सबै खेल कुवेतको ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेल्नेछ।