राजनीति

गण्डकीमा पहिले बजेट अधिवेशन अनि मात्र विश्वासको मत


काठमाडौँ – गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ११ मा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले बजेट अधिवेशन जेठ १६ गते दिउँसो १ बजेका लागि आव्हान गरेकी थिइन् । अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने छन् । अधिवेशन पोखरा सभागृहमा हुने छ।

भोलि जेठ १७ गते प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ । यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने छन् । २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधान छ । त्यस्तै प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाको बाध्यता पनि रहेको छ ।

गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र गुरुङलाई विश्वास पुग्छ । अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन ।

यस्तो छ गण्डकी प्रदेशको अंक गणित
गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२ र जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन्। नयाँ सरकार गठन गर्न विश्वासको मत लिनुपर्छ। त्यसका लागि कम्तिमा ३१ सांसद आवश्यक पर्छ।

तीन सांसद रहेको गण्डकी प्रदेशमा जनमोर्चा निर्णायक भूमिकामा छ। जनमोर्चाले एमालेलाई साथ दिएमा एमालेका २७, एक स्वतन्त्र गरी ३१ पुग्छ। सरकारलाई निरन्तरता दिन यो पर्याप्त संख्या हो। कांग्रेसका, माओवादी र जसपा मुख्यमन्त्री गुरुङको सरकार ढालेर नयाँ सरकार बनाउन कसरत गरिरहेका छन्।

उनीहरुलाई जनमोर्चाले साथ दिएमा सांसदको जम्मा संख्या ३२ पुग्छ र सरकार बन्छ। तर, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा भने गुरुङ सरकारप्रति सकारात्मक छन्। उनले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दाबी पत्रमा हस्ताक्षर गर्न मानेका थिएनन्। तसर्थ उनलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ। यद्दपी उनको सांसद पद भने गुमेको छैन।