राजनीति

ओलीले लात हानेपछि घर न घाटका माधव–झलनाथ, एमालेमा फर्किने कि प्रचण्डसंग मिल्न जाने ?(भिडियोसहित)


काठमाडौँ – २०५४ मा विभाजन भएर २०५८ मा मिलेको एमाले पुनः विभाजनको संघारमा छ । पार्टी हितविपरित कार्य गरेको आरोपमा प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेतालाई पार्टीबाट निष्कासन गरेका छन् । तर खनाल–नेपाल समुह नयाँ पार्टी खोल्ने कि पार्टीभित्रै संघर्ष गर्ने भन्नेमा अझै अलमलमा छ ।

झापा विद्रोहलाई जग बनाएर माले हुँदै अघि बढेका र पाँच दशकभन्दा बढी पार्टीको नेतृत्व गरेर प्रधानमन्त्रीसमेत भैसकेका एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले निष्कासित गरेपछि एमालेको राजनीति नयाँ मोडमा छ । खनाल–नेपाल पक्ष पार्टी अध्यक्ष ओलीसँग कुनै पनि हालतमा एक भएर जान नसकिने निष्कर्षमा छ ।

तर फुटेर जानेहरु इतिहासमा विलय भएका थुप्रै घटनाक्रमले यो पक्ष हच्कीएको छ । यसैकारण एमालेमा किनाराकृतको राजनीति गरिरहेको खनाल–नेपाल पक्ष नयाँ दल दर्ता गरेर अघि बढ्ने कि एमालेभित्र आन्तरिक संघर्ष गरेर सम्मानको स्थान बनाउने भन्नेमै अलमल छ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि नयाँ दल दर्ताको सम्भावना पनि टुटेको छ । अब खनाल–नेपाल समुहका अघि पार्टीमै अन्तरसंघर्ष गर्ने वा आफु निकट बिधार्थी नेताहरुले कलम चिन्हसहित दर्ता गरेको नेकपा (एकिकृत) नामको पार्टीमार्फत चुनाव जाने सुविधा छ । नभए पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएर माओवादी केन्द्रमा प्रवेश गर्ने वा विपक्षी गठबन्धनसंग मिलेर आफ्ना नेताहरुलाई स्वतन्त्र उम्मेद्वार बनाउन तयार हुनुपर्ने देखिन्छ ।

यद्यपी खनाल–नेपालको बहिर्गमनले ओलीलाई पनि सजिलो छैन । स्थानीयस्तरसम्म बलियो जनाधार रहेको पक्षलाई पन्छाएर अघि बढ्न खोज्दा आफ्नै भविष्य धरापमा पर्ने र आगामी चुनावसमेत हार्ने चिन्ता ओलीमा देखिन्छ । जसको कारण ओली अझै पनि एकताका लागि लचक रहेको अनुमान गरिन्छ ।

एमाले ब्यूँतिएपछि पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउनु पर्ने खनाल–नेपाल समूहको मागमा ओली सहमत भएको भए एमाले एक रहने सम्भावना थियो । तर कर्णालीमा फ्लोरक्रस, बागमतीमा पार्टी उम्मेद्वार रामबहादुर थापालाई हराउनेदेखि केन्द्रमा विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि लागिपरेपछि ओलीले खनाल–नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्याबाट निष्कासित गरेका छन् ।

नेपाल समूहले चैतभर ६६ जिल्लामा गठन गरेका समानान्तर कमिटीका कारण पनि ओली रुष्ट छन् । जसकारण आफैले गठन गरेको पार्टीबाट कारवाही बेहोरेर खनाल–नेपाल समूह घर न घाटको बनेको छ ।