राजनीति

जसपामा स्पष्टीकरण सोध्नेको जुहारी


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।

जेठ ११ गते सोधिएको स्पष्टीकरणको जवाफ ३ दिनभित्र नआएपछि दोस्रो पटक स्पष्टीकरण सोधिएको ठाकुरद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।
पत्र प्राप्त गरेको २४ घण्टाभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ । म्यादभित्र चित्तबुझ्दो र सन्तोषजनक जवाफ नआए पार्टीको विधान बमोजिम निष्कासन समेत गरिने पत्रमा उल्लेख छ ।
यसअघि आज नै बाबुराम भट्टराई–यादव समूहले २४ घण्टाको समयसीमा दिँदै अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्‍ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरिरहेको छ भने भट्टराई–यादव समूह विपक्षी गठबन्धनको समूहमा लागिरहेको छ ।यसरी पार्टीमा एक गुटले अर्काे गुटलाई स्पष्टीकरण सोध्ने र जवाफ नआए निष्काशन गर्ने भन्ने पत्रले जसपा पनि फुटको संघारमा पुगेको स्पष्ट हुन्छ ।