राजनीति

गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी : सभामुख सापकोटा


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै औचित्य स्थापित हुने बताउनुभएको छ ।

सभामुख सापकोटाले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभामुख सापकोटाले घाइते, अपाङता भएका तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।