देश

जसपाभित्र हाबी हुँदै ओली, महन्थ र उपेन्द्रको बीचमा ओली कै हैकम चल्दा जसपा फुट्ने भयो


काठमाडौँ – नेकपा एमाले जस्तै जनता समाजवादी पार्टी पनि फुटको संघारमा छ । पार्टीमा दुबै पक्ष एक अर्काविरुद्ध उत्रिदा विभाजन अनिवार्य बनेको छ । दुई खेमामा विभाजित जसमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वार्थ अनुसार खेलिरहेका छन् । सत्तारुढ दल नेकपा एमालेको जुन हविगत छ, विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)को पनि अवस्था उस्तै छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारले एमाले विभाजनको अन्तिम कसरतमा रहेका बेला जसपाभित्र पनि ओली नै हाबी हुँदा नेताहरु फुटको अन्तिम चरणमा छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई तन मन दिएर सत्तामा टिकिरहने मेसो मिलाईदिएका छन् । यसको बदलामा ठाकुर–महतोले नागरिकता सम्बन्धी अध्यादेश उपहार पाएका छन् भने सरकारको स्वाद लिने तयारीमा छन् ।

जसबाट अत्तालिएको र विपक्षीहरुको गठबन्धनमा आवद्ध भएर ओली शासन ढाल्न लागिपरेको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले ठाकुर–महतोको कदमलाई गलत भन्दै आएको छ । यहीँ कारण दुबै पक्षले एकअर्काबीच स्पष्टिकरण युद्ध नै चलाएका छन् । तर ठाकुर–महतो पक्षले भने पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुर नै भएकाले अर्का अध्यक्ष उपेन्द्र यादवसँग स्पष्टिकरण सोध्ने अधिकार नभएको बताउँछ ।

पछिल्ला गतिविधि र दुई अध्यक्षबाट एकअर्कालाई कारबाही गर्ने विज्ञप्तिबाजीले जसपाको आधिकारिकतामा कुन पक्ष आधिकारिक हो भन्ने विवादसमेत बढ्न थालेको छ । पार्टीको अधिकार सम्पन्न भनेको कार्यकारिणी समिति हो, जसपा यादव पक्षको बहुमत छ । तर सांसदहरु भने ठाकुरतिरै बढी छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले २०७७ वैशाख १० गते एकता हुँदा जसपाको नेतृत्व कसले पाउने भन्नेमै विवाद थियो त्यहाँ पनि प्रधानमन्त्री घुसेर समाजवादी पार्टी विभाजन गर्ने गरि अध्यादेश जारी गरेपछि उपेन्द्र यादव एकीकरण गर्न दबाबमा परेका थिए ।

अहिले पनि दुई तिहाइको हावा फुस्कीएर अल्पमतमा परेका ओलीले सत्तामा अडिन जसपाको साथ लिइरहेका छन् । यसैकारण भारतपरस्त भनेर चिनिदै आएका ठाकुर–महतोलाई ओलीले दिनानुदिन भारतीय दूताबास र वालुवाटारको ओहोर दोहर गराईरहेका छन् । विगतमा नाजायज भनेर पन्छाउँदै आएको नागरिकता अध्यादेश र मधेश आन्दोलनका मुद्दालाई सम्बोधनमात्रै होइन ओलीले राजेन्द्र महतोलाई गृहमन्त्री बनाएर अघि जान खोजेको चर्चा पनि उत्तिकै छ ।

जेठ ४ मा अध्यक्षद्वय ठाकुर र यादवबीच जारी संयुक्त विज्ञप्तिले जसपा फुटबाट जोगिने आधार तय भएको थियो । तर जब, संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढ्यो, ठाकुर र यादवको समझदारी भत्कियो । ठाकुर प्रधानमन्त्री ओलीकै कित्तामा धकेलिए भने यादव विपक्षी गठबन्धनमा जोडिए । अहिले दुबै पक्षले एकअर्कालाई सहमति तोडेको आरोप लगाइरहेको छन् । मुद्धाका लागि ओलीसँग नजिक भएको बताउने ठाकुर–महतोले चाहेको भए सरकार बन्ने सम्भावना थियो ।

विपक्षी गठबन्धनले ठाकुरलाई नेतृत्व दिन तयार रहेका बेला आफै प्रधानमन्त्री भएर मुद्धा सम्बोधन गर्न पर्याप्त आधार हुँदाहुँदै पनि ठाकुर राजी नभएर ओलीतिरै ढल्कीनुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले दक्षिण छिमेकीले काम गरेको दाबीसमेत गर्छन । तर स्वार्थको राजनीतिमा फसेका दुबै पक्ष आफ्नो भन्दा अरुकै अस्तित्व बचाउन लागिपर्दा विभाजनले प्रसय पाइरहेको छ । यता प्रधानमन्त्री ओली भने जसपाभित्र खेलेरै सत्ता लम्व्याउन सफल भएका छन् ।