देश

भेरि अस्पताल कुटपिटको वास्तविकता, लात्ताले हाने, घाँटी अठ्याएर मार्न खोजेपछि हाम फालेर बाँचे(भिडियोसहित)


काठमाडौँ –महामारीमा अथक संघर्ष गरिरहेका भेरी अस्पताल बाँकेका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमितको मृत्यु भएपनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो । घटनाबारे अहिले छानबिन चलिरहेको छ ।

बिहीबार रातको करिब ९ बज्दै थियो । बाहिर मुसलधारे पानी परिरहेका बेला भेरी अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु कोभिड–१९ का विरामीको उपचारमा खटिरहेका थिए । त्यतिबेलै करिव ४–५ जनाको एक हुलले स्वास्थ्यकर्मीमाथि आक्रमण सुरु ग¥यो ।

आफुमाथि हातपात र कुटपीट नै हुन थालेपछि स्वास्थ्यकर्मीको भागाभाग भयो । कोही लुक्ने ठाउँ खोज्दै क्याबिन, ट्वाईलेटमा गएर आफ्नो ज्यान जोगाए भने कोही अस्पतालको एक तला माथिबाट हामफालेर भागे ।

कोरोना संक्रमण भएर आईसियुमा उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि कुटपिट र हातपात गरेका थिए । भ्यान्टिलेटरमा रहेका संक्रमितलाई बचाउन स्वास्थ्यकर्मीले हरसम्भव प्रयास गर्दागर्दै मृत्यु भयो । विरामीका आफन्तले रिस भने उपचारमा खटिएकी चिकित्सक र नर्समाथि पोखे । भन्टिलेटर चलाउन नजानेको भन्दै नर्सको घाँटी अठ्याएर लात्तैलात्ताले हानेको उपचारमा संलग्न नर्सहरु बताउँछन् ।

आक्रमणपछि स्वास्थ्यकर्मी तितरबितर हुँदा अन्य दुई जना व्यक्तिले समेत ज्यान गुमाएका छन् । घटनापछि अस्पताल प्रशासन, सुरक्षा निकायलगायतका सरोकारवालाहरु मध्यरातमा आकस्मिक बैठक बसेर बास्तविकता बुझ्ने कोशिस गरिएको थियो । हायलकालय बनेका स्वास्थ्यकर्मीले सुरक्षा प्रत्याभूति नहँुदासम्म काममा नफर्किने बताएपनि अस्पतालमा अन्य विरामीको अवस्थासमेत नाजुक रहेकाले उनीहरु पुनः काम फर्किए । उपचारमा संलग्न चिकित्सकसहित ६ जना नर्समाथि आक्रमण भएको अस्पतालको भनाई छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालको आईसियु तोडफोड गर्ने व्यक्ति हुन् नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङका नेता मानबहादुर राउत । जेठ ४ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर राउतलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा राउतको विहिबार राति ८ बजे मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोरा भरत लगायतका ४-५ जनाको समूहले यो ताण्डप मच्चाएको हो । उनीहरु मध्य ३ जनालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोभिडको दोस्रो लहरले भयावह अवस्थामा परिणत भएको भेरी अस्पतालमा विगत १० दिनको अवधिमा तीन पटक यस्ता घटना भएका छन् । तर दोषीमाथि कारबाही गर्ने भनिएपनि प्रशासनको लापरबाहीले सबैले उन्मुक्ति पाउँदै आएका छन् । यसपटक पनि दोषीमाथि कारबाही हुनेमा चिकित्सक ढुक्क छैनन ।

आफन्तलाई गुमाउँदा पीडा पक्कै हुन्छ । तर पीडा र आवेग मिसाएर स्वास्थ्यकर्मीमाथि गरिएको अपराध स्वीकार्य हुँदैन । स्वास्थ्यकर्मीसँग कुनै जादुको छडी छैन, छुनवित्तिकै निको भइहाल्ने । आफ्नो ज्ञान र क्षमताले भ्याए उपचार गर्ने हो । उपचार गर्ने क्रममा विरामी निको हुन पनि सक्छ, नहुन पनि सक्छ । किनकी यो बढ्दो महामारी त्यो पनि सिमित स्रोत साधनमा काम गरिरहेका स्वास्थ्यकर्मी नै अहिले आशाका केन्द्र हुन् । अरुलाई बचाउन आफ्नै ज्यानको बाजी लगाएर महामारीमा खटिएका स्वास्थ्यकर्मी कै ज्यान लिन खोज्नु के न्यायोचित हो र ? बरु यस्तो बेला चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल बढाउने वातावरण तयार गर्नु हामी सबैको सार्वजनिक दायित्व हो ।