काठमाडौँ – दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आज देशवासी नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न समेत आग्रह गरे ।
शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको दाबी गरे । साथै उनले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरेका छन् । सम्बोधनको क्रममा ओलीले स्थानीय तहको निर्वाचन पनि यसै बर्ष हुने संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरुको लागि आधारभूत नीतिहरु पनि सार्वजनिक गरे । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने भएपनि संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । त्यसको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नीतिहरु सार्वजनिक गरेका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीले कोरोनाको खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरे । उनले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री ओलीले विगत ३ बर्ष यता नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेको, संविधान पुर्ण रुपमा कार्यान्वयनमा आएको, संघीयताले स्थायीत्व प्रदान गरेको, लामो सयम देखि रिक्त संबैधानिक निकायहरुले पुर्णता पाएको, हिंसाको बाटो हिडेको समुह शान्ति प्रक्रियामा आउनु यस कालखण्डको महत्वपुर्ण उपलब्धिको रुपमा रहेको उल्लेख गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विगत ३ बर्षमा आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया