देश

भेरी अस्पतालका डाक्टर र नर्समाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


काठमाडौँ – भेरी अस्पताल नेपालगञ्जमा डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । भेरी अस्पताल प्रशासनद्वारा तीनजना विरुद्ध मुद्दा दर्ता गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतमाथि मुद्दा दर्ता गरिएको हो । दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगन्जमा उपचार गर्ने क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि सांघातिक हमला गरेका थिए । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताएको छ ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति मार्फत घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् ।