समाचार

स्वास्थ्यकर्मी कुट्ने दोषीलाई कारवाहीको माग गर्दै आन्दोलन


काठमाडौँ – बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमणको भर्त्सना र दोषीमाथि कारबाहीको माग गर्दै त्यहाँ स्वास्थ्यकर्मीले आन्दोलन गरेका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरूले ुराजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो लगायतका नारासहित अस्पताल परिसरमै प्रदर्शन गरेका हुन् ।

डाक्टर र नर्सलगायतले आज बिहानैदेखि कुटपिटमा संलग्नलाई कडा कारवाही माग गर्दै प्रदर्शन गरेका छन्। घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।