समाचार

एमालेका पूर्वसांसद न्यौपानेको निमोनियाका कारण मृत्यु


काठमाडौँ – नेकपा एमालेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पतालमा उपचाररत पूर्वसांसदको बुधवार राति निधन भएको हो । एमालेको तर्फबाट विसं २०५६ सालको प्रतिनिधिसभा सदस्यमा जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका न्यौपाने फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए ।
सुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपानेलाई वैशाख २३ गते प्रहरी अस्पताल काठमाडौंमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ अवस्था झनै विग्रदै गएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो । उनलाई त्यहाँ १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छोरा मदन न्यौपानेले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिए पनि उनमा निमोनियाले भने छोडेको थिएन।
छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा थिए ।