राजनीति

ओली कसरी सफल भए एमाले कब्जा गर्न, माधव–झलनाथको दुःख माटोमै मिलाईदिए, माधवको अर्काे पार्टी बन्यो(भिडियोसहित)


काठमाडौँ – व्यक्तिगत टकराव र अहंकारकै कारण सत्तारुढ पार्टी नेकपा एमाले विभाजनको अन्तिम विन्दुमा छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका शिर्ष नेताहरुको तुलना गर्ने हो भने खास एमाले पार्टी निर्माता, त्यागी र निष्ठाको राजनीति गर्नेहरु माधव पक्षमा पल्लाभारी देखिएको छ ।

एमालेका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले माले स्थापना गर्दा केपी शर्मा ओली जेलमा थिए । २०४४ सालमा जेलबाट छुटेपछि केन्द्रीय सदस्य बनेका उनै ओलीले आज खनाल–नेपाललाई पार्टीबाट निष्कासन गरेर एमाले कब्जामा लिएका छन् । यो संगै झापा विद्रोहलाई प्रेरणा मानेर एउटै पृष्ठभूमिबाट माथि उठेका ओली, खनाल र नेपालको बाँकी राजनीतिक जीवन अब अलग हुने निश्चित भएको छ ।

गत वर्षको फागुन तेस्रो साताबाट सुरु भएको निषेध र प्रतिशोधको वीष वृक्ष बढ्दै गएपछि एमालेको खनाल–नेपाल समूहले पार्टीबाट अलग्गिनुमै आफ्नो भलाई ठान्दै आएको थियो । तर त्यो सिलसिला जेठ १० गतेसम्म आईपुग्दा ओलीले आफ्नै स्थापनाकालिन सहयात्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकाल्ने हदमा पुगेपछि एमालेको एकताबद्ध कहानी विलयको अवस्थामा झरेको छ । अब खनाल–नेपाल समुह अर्काे पार्टीको तयारीमा छ ।

नेकपा एमालेलाई माधवकुमार नेपालले सबैभन्दा लामो समय निरनतर १५ वर्ष हाँकेका थिए । झलनाथ खनालले भूमिगत कालमा ५ वर्ष मालेको नेतृत्व गरे । २०६४ सालको संविधानसभा चुनावपछि खनाल नै फेरि पार्टीको महासचिव बने । २०६५ को आठौं महाधिवेशनबाट ओलीलाई पराजित गर्दै खनाल पहिलो अध्यक्ष बन्दै एमालेको नेतृत्व गरेका थिए ।

नवौं महाधिवेशनपछि मात्रै माधव नेपाललाई हराएर पार्टीको नेतृत्वमा आएका ओली नै अहिले एमालेको एकाधिकार बनेका छन् । यद्यपी पार्टीभित्रको सिदान्तनिष्ठ, वैचारिक र एमालेका असली अनुहार खनाल–नेपाल तिरै देखिन्छन् । ओलीतिर भने बढी महात्वाकांक्षी, दादागिरी र अहंकारीहरुको झुण्ड रहेको कुनैबेला ओली माधवहरुकै सहयात्री रहेका पुराना कम्युनिष्ट नेताहरु बताउँछन ।

एमालेकै जगमा उभिएर तीनै जनाले देशको प्रधानमन्त्री बन्ने हैसियत पाए । तर राजनीतिक जीवनको उत्तरार्धमा आईपुग्दा यी तीनबीच मन नमिल्ने अवस्था आयो र बहिर्गमनको यात्रा आरम्भ भएको छ । खनाल–नेपाल समुहले विधार्थी नेताको नेतृत्वमा नेकपा एकिकृत नामको पार्टी दर्ता गरेको छ । गतबर्षदेखि नै विभाजनको रस्साकस्सीमा रहेपनि पार्टी फुटको दोष आफ्नो थप्लोमा लिन नचाहेका कारण एमाले एक जस्तो देखिएको थियो । अहिले खनाल–नेपाल समुह नयाँ पार्टी नै दर्ता गरेर अघि बढेपछि एमाले विभाजन सुनिश्चित भएको हो ।

२०५४ मा फुटेर ५८ मा मिलेको एमाले पुनः दोस्रो पटक विभाजनमा पुग्नुको मुल कारण प्रधानमन्त्री ओलीको शक्ति आर्जन गर्ने हुटहुटी हो । जसले यसअघि नेकपा फुटाईसकेको छ । त्यसमध्ये खनाल–नेपाल समुहले ६६ जिल्लामा गठन गरेको समानान्तर कमिटी पनि अर्काे कारण हो । जुनसुकै राजनीतिक दलको निर्माण, गति र भविष्य उसले अंगिकार गरेको सिद्धान्त र निष्ठामा अढिएको हुन्छ ।

निष्ठाको राजनीति गौण हुँदै गएको परिप्रेक्षमा एमालेभित्र पनि हैकमवादी सोँच र निरंकुशता हावी हुँदै गएको छ । पार्टीका बैचारिक शक्ति पाखा लगाएर कम्युनिष्ट पार्टीको गतिशिलता दिवास्वप्ना मात्रै हुँदै जाने कतिपयको बुझाई छ ।