देश

सामाजिक सञ्जालमा नेतामाथि गालीको बर्षा, वनमन्त्रीको फोटोदेखि मुख्यमन्त्रीको पोष्ट समेत निशानामा(भिडियोसहित)


काठमाडौँ – पछिल्लो समय सामाजिक सञ्जाल राजनीतिक आरोप प्रत्यारोपको थलो बन्दै जान थालेको छ । निषेधाज्ञाका कारण सडकमा आउन नपाउने अवस्था र अप्रत्याशित रुपमा विकास भइरहेका राजनीतिक घटना क्रमका कारण सामाजिक सञ्जाल आक्रोश पोख्ने थलो बनेको हो । फलत आफ्ना पक्षपोषण र विपक्षीलाई गाली गर्न प्रयोग भइरहेको यो थलो शीर्षस्थ नेताहरुको पनि रोजाईमा पर्दै गएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संञ्जालमा हिजो पोष्ट गरेको एउटा स्टाटस र उनले दिएको उत्तर यतिवेला भाइरल भइरहेको छ । केपी शर्मा ओलीलाई गिरिजाप्रसाद कोईरालसँग तुलना गरेर महिमा गान गरिएको सो स्टाटसमा धेरै नकारात्मक प्रतिक्रियाहरु आएका छन् । त्यसैको भान गराउन धनु विष्ट नामका प्रयोगकर्ताले गरेको कमेन्टको उत्तर दिदै पोखरलेले लेखेका छन –४२ सयभन्दा बढि लाईक पनि छ नी । अर्थात उनले आफु विरुद्धको प्रतिक्रिया विरुद्ध ४२ सय समर्थन पनि त छ भन्ने देखाउन खोजेका छन् ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नो फोटो टालेर अक्सिजन सिलिन्डर बाडेको फोटो भाईरल बनिरहँदा उनका पक्षकाले त्यसको बचाउ गर्दै कांग्रेसले गरेका त्यस्तै कृत्यका फोटो शेयर गरिहेका छन् । यसरी नै पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक दलका दुई पक्षबीच आरोप प्रत्यारोपको बाढि नै आएको छ । को भन्दा को कम भन्ने जुंगाको लडाईको परिणाम संसद दोश्रो पल्ट विघटन भएपछि त्यसका पक्ष विपक्षका बहस पनि सामाजिक सञ्जालमै देख्न सकिन्छ ।

सरकारका गैरसंबैधानिक कदमविरुद्ध विपक्षी दलका नेता, बुद्धिजीवी र नागरिक समाजले आपत्ती जनाएपनि ती केवल सामाजिक सञ्जालमा केन्द्रित भएका छन् । सरकारको संविधान विघटन गराउने निर्णय असंवैधानिक भएको बताँउदै ट्वीटरमा जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिरोधका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । तर एमाले नेता तथा पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाले भने जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त भएको भन्दै बचाउ गरेका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश पनि यतिवेला सामाजिक सञ्जाल बहशको विषय बनेको छ । विपक्षीले राजनीतिक स्वार्थका लागि ओलीले नागरिकता बेचेको आरोप लगाँउदा ओली पक्षले भने बचाउमा उत्रिएको छ । महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेका विषयले पनि सामाजिक सञ्जाल तताउँदै आएको छ , जनताका स्वास्थ्यभन्दा सत्ताका लागि मरिहत्ते गर्ने नेताहरुका कारण आम नागरिकमा निराशा बढ्दो छ । एमाले र जसपा भित्र एक पक्षले गरेका कार्य अर्को पक्षलाई मान्य छैन । तर निषेधाज्ञाका कारण सडकमा आउने अवस्था छैन ।

फलत सामाजिक सञ्जाल यी सबैप्रकारका असन्तुष्टि र आक्रोश पोख्ने थलो बनेको छ । पहिलो लहरको कोरानकै बीचताका र दोश्रो लहर सुरु हुनुभन्दा अघि जस्तो अहिले सडकमा मानिस उत्रिएका छैनन । त्यतिवेला सरकारको विरोध र पक्षपोषणमा सडकमा निस्किएका मानिसहरु यतिवेला सामाजिक संञ्जालबाटै आगो ओकलिरहेका छन् ।