राजनीति

ओलीले देश राष्ट्रपतिलाई जिम्मा लगाउँछन्, राष्ट्रपति शासन चल्छ, सेना सडकमा आएर गोली हान्न तयार होला?(भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई चुनावमा लैजान कात्तिक २६ र मंसिर ३ को मिति तय गरेका छन् । तर वर्तमान अवस्थालाई हेर्दा संसद् पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नहुने आँकलन गर्न थालिएको छ । त्यसो भए मुलुक कसरी अगाडी बढ्ला त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक पुस ५ मा संसद् विघटन गर्दा नेकपा एकता खारेज भयो । नेकपा एकता खारेज भएर ब्यँुतिएको एमाले भने ओलीले जेठ ७ को मध्यरातमा दोस्रोपटक संसद् विघटन गर्दा विभाजित भएको छ । शक्तिआर्जनको हुटहुटीमा रहेका ओलीका कारण पार्टीमात्रै विभाजित छैन, राष्ट्रिय राजनीति नै विथोलिएको छ । ओलीका यी सबै कदममा राष्ट्रपति विद्यादेवी भण्डारीको दरिलो साथ छ ।

सरकार गठनको सम्भावना हुँदाहुँदै राष्ट्रपतिले ओलीलाई साथ दिएर अघि बढेपछि बहालवाला प्रधानमन्त्री एकातिर छन भने पाँच पुर्वप्रधानमन्त्री अर्काेतिर छन् । यद्यपी ओलीको कदम असंवैधानिक र न्यायोचित नभएको भन्दै सोमबार पुर्वप्रधानमन्त्रीसहितका १४६ सांसदहरु सशरीर सर्वाेच्चको ढोका घच्घच्याउन पुगेकाले अब यसको छिनोफानो अदालतले गर्नेछ । तर अहिलेको बस्तुस्थितिलाई विश्लेषण गरिरहेकाहरु भने संसद् पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नहुने बताईरहेका छन् । विश्लेषकहरुका अनुसार संसद् पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा देश राष्ट्रपतिको शासनमा चल्ने बताउँछन् ।

प्रधानमन्त्री ओलीको अनुकुल हुनेगरी राष्ट्रपतिले शासन चलाउन सक्ने र जसको शुरुवात प्रदेश प्रमुख हेरफेरमा राष्ट्रपतिले देखाएको तदाकरुकतालाई लिने सकिने उनीहरुको बुझाई छ । यद्यपी विपक्षीहरु यो स्वीकार्दैनन् । किनकि राष्ट्रपति र प्रधानमन्त्रीले भड्कालोमा हालेको देशलाई सर्वाेच्चले लयमा फर्काउने उनीहरुको विश्वास छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबाट गरिएको संविधानको ठाडो उल्लंघनबाट नेपाली समाजमा एकैसाथ तनाव र आक्रोश पैदा भएको छ । दुवै मिलेर संविधानलाई चिथोर्ने र लोकतान्त्रिक मूल्य–मान्यता भत्काउने काम गरेको स्पष्टै देखिन्छ । तथापी सत्तारुढ दलका नेताहरु अबको विकल्प चुनाव नै भएकाले यसमा शंका गर्नुपर्ने आधार नभएको बताउँछन् ।

कदाचित तोकिएको मितिमा निर्वाचन नभए राष्ट्रपतिले शासन आफ्नो हातमा लिन सक्ने पर्याप्त आधार देखिदैन । राष्ट्रपतिले शासन चलाउन सेनाको सहयोग चाहिन्छ । सेना सम्पूर्ण रुपमा उनका लागि बन्दुक बोकेर विरोधीहरूमाथि गोली प्रहार गर्न तयार भएर सडकमा आउनुपर्छ । तर अहिले नेपाली सेनाबाट यस्तो अपेक्षा गरिएको छैन । तथापी नेपालको राजनीति न हो, नेताहरु विदेशी र अमुक शक्ति केन्द्रको तालमा नाच्ने भएकाले राष्ट्रपति शासन असम्भव देखिदैन